News

चितवन, पुस ३० ।

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको छैटौं दिन आज एकैदिन ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाकाअनुसार आजमात्रै ५५ हजार बढीले चितवन महोत्सव अवलोकन गरेका हुन् ।

आज शनिबार परेको कारण धेरै दर्शकहरु महोत्सवमा उपस्थित भएका पियाको भनाइ छ । सार्वजनिक बिदाको दिन भएकाले आज बिहानैदेखि साँझसम्म महोत्सवस्थलमा दर्शकहरुको अत्यधिक भिड देखिएको पियाले बताए । महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति धेरै भएपछि आज टिकट काट्ने स्थान थप गरिएको उल्लेख गर्दै संयोजक पियाले महोत्सव भित्र प्रवेश गर्ने थप गेट समेत खुला गरिएको जानकारी दिए ।

भोलि माघे सङ्क्रान्ति परेकाले दर्शकको चाप अझै बढ्ने भन्दै पियाले सोहीअनुसारको व्यवस्थापन गरिएको बताए । मानिसको भिड धेरै भएर टिकट काट्न लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै पियाले चितवन महोत्सवको टिकट अनलाइनबाट काट्न सकिने पनि जानकारी दिए । महोत्सवको टिकट अनलाइन काटेका व्यक्तिहरु उद्योग वाणिज्य संघसँगै रहेको २ नम्बर गेटबाट सहजरुपमा महोत्सव स्थल प्रवेश गर्न सक्ने पियाले बताए ।

यसैबीच, चितवन महोत्सवको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा महोत्सव प्रवेशको व्यवस्था गरेको छ । छैठौँ दिनसम्म आइपुग्दा करिब ३० हजारले निःशुल्करुपमा महोत्सव अवलोकन गरेका टिकट व्यवस्थापन समिति संयोजक पियाले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्दै लक्षित वर्गलाई गेटबाट सहजरुपमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पियाले बताए

चितवन, पुस ३० ।

चितवन । नारायणी नदीमा माघ १ गते देखि क्रुजशिप सञ्चालनमा आउने भएको छ । क्रुजशिप निर्माण गर्ने कम्पनी राइनो वाटर इन्टरटेनमेन्टले एक विज्ञप्ती जारी गरी भोलि माघ १ गतेदेखि क्रुजशिप सञ्चालनमा आउने जानकारी दिएको हो ।

करिव दुई वर्ष पहिले नै क्रुजशिप निर्माण सम्पन्न भई परीक्षण गरिएको थियो । कोभिड माहामारीका र केही नीतिगत व्यवधानका कारण क्रुजशिप सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै पक्रिया पुरा गरेर क्रुजशिप संचालनमा ल्याउन लागिएको कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले जानकारी दिए । उनले दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेको जानकारी दिए । ३ तलाको क्रुजशिपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता भने २०० रहेको छ ।

यसमा यात्रा गर्ने सबै यात्रुहरुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हुन्छ । क्रुजशिपको टिकट दर ७०० रुपैयाँ रहेको छ । ब्रेकफास्ट क्रुजिङको १५००, लन्च क्रुजिङ २०००, डिनर क्रुजिङ २५०० रहेको छ ।

चितवन, पुस ३० ।

खेलकुद र पर्यटनलाई जोड्न सकेमा मात्रै समृद्ध नेपाल निर्माण हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । उद्योग वाणिज्य संघ चितवनले १४औँ चितवन महोत्सवको अवसरमा आज नारायणगढमा आयोजना गरेको ‘खेल पर्यटनको गन्तव्य चितवन’ विषय पर्यटन गोष्ठीमा सहभागीहरुले खेल पर्यटनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले खेलकुद र पर्यटनलाई सँगसँगै अघि बढाउन नसक्दा नेपालको विकास पछाडि धकेलिएको बताए । पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको नेपाललाई खेल पर्यटनसँग जोड्नु अहिलेको आवश्यकता भएको बरालीको भनाइ छ । खेलकुद र पर्यटनलाई जोड्ने कुरामा मानिसहरुको ध्यान पुग्न नसकेको बरालीले बताए । कार्यक्रममा स्रोत व्यक्ति एवं भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्वराज सुवेदीले विश्व अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनले ओगटेको भए पनि नेपालले त्यसको लाभ लिन नसकेको सुवेदीले बताए । नेपालमा जल पर्यटन, पर्वतीय पर्यटन, हिमाली पर्यटन, वन तथा वन्यजन्तुलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने सुवेदीको भनाइ छ । चितवनमा अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सकेको खण्डमा चितवनमा मात्रै वार्षिक एक लाख विदेशी पर्यटक भित्र्याउन सकिने सुवेदीले बताए ।

कार्यक्रममा अमेरिकाका लागि पर्यटन प्रवद्र्धन राजदुत विनोद अधिकारीले ठूला दुई राष्ट्रको बीचमा रहेको नेपालले पर्यटनको क्षेत्रमा लाभ लिन सक्नुपर्ने बताए । चितवनमा ठूला नदी, पहाड, निकुञ्ज र दुर्लभ वन्यजन्तु पाइने भन्दै यसको प्रचारसँगै नदी र पहाडमा खेलकुदका गतिविधि गर्नुपर्ने अधिकारीले बताए । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले चितवनमा खेलको पूर्वाधारका लागि आएको बजेट पनि काम गर्न नसक्दा अन्यत्र रकमान्तर भएर जानु लाजमर्दो विषय भएको बताए ।

खेलकुदको विकासका लागि खेलसँग सम्बद्ध संघसंस्थामात्रै नभएर निजी, सार्वजनिक तथा सरकारी संघसंस्थाहरुको सहयोग आवश्यक रहेको गुरुङको भनाइ छ । त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता एवं बेलायतका लागि पर्यटन प्रवद्र्धन राजदुत सोम सापकोटाले नेपालको पर्यटनलाई कसरी विश्वमाझ पु¥याउन सकिन्छ भनेर आफूहरु लागिपरेको बताए । विश्वमा हुनेभन्दा फरक गतिविधिलाई समेटेर नेपालमा खेलकुदसँगै पर्यटक भित्र्याउन सकिने सापकोटाको भनाइ थियो ।

कार्यक्रममा नासा फाउण्डेशनका प्रमुख गोविन्द भट्टराईले मुलुकको विकासका लागि खेल पर्यटनसँगै पूर्वाधारहरु पनि हुनुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणीमा बिच भलिबलसहित धेरै सम्भावना भएकाले सरकारको ध्यान जानुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका पर्यटन संयोजक अशोक अधिकारीले पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा सबै क्षेत्र सहज रुपमा सञ्चालन हुने बताए ।

 

Subcategories