आनन्द पोखरेल
चितवन, ५ मंसिर ।


भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको वन मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको ‘क्यान बम’ निस्कृय पारिएको छ । मंगलबार बिहान फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले करिब १० बजेतिर निस्कृय पारेको हो ।चितवन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पाण्डेको घर पछाडि क्यानमा करिब पाँच किलो तौल भएको बम राखिएको नेपाली सेनाले जनाएको छ । दि फेमस महेन्द्र दल गण भरतपुरका गणपति प्रमुख सेनानी सुरेन्द्र सापकोटाका अनुसार मन्त्री पाण्डेको घर पछाडि अत्यधिक चाप र तापका कारण पड्कीने बम राखिएको थियो ।बम निस्कृय पार्ने टोलीले तीन पटकको प्रयासपछि बमलाई निस्कृय पारेको हो । मन्त्री पाण्डेको घर पछाडि बम राखेको जानकारी पाएपनि सेनाको टोली बिहान सात बजेदेखि बम निस्कृय पार्न खटिएको थियो ।

मंसिर ०४ ।


भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विश्वका विभिन्न देशका वैज्ञानिक सहभागी भएको ‘अन्तर्रा्ष्ट्रिय भैँसी विज्ञको समगोष्ठी’ ले चार बुँदे निष्कर्ष निकालेको छ । यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चितवनको सौराहामा सम्पन्न समगोष्ठीले चार बुँदे निष्कर्ष निकालेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो अवसरमा आयोजक संस्था कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायकी डिन डा.शारदा थपलियाले समगोष्ठीले राष्ट्रियस्तरमा भैँसी अनुसन्धानको सर्वोच्च केन्द्र र सोअन्तर्गत स्याटेलाइट अनुसन्धान केन्द्र स्थापना गर्ने निष्कर्ष निकालेको बताइन् । समगोष्ठीले क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय रुपमा भैँसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच सशक्त साझेदारी र सहकार्यको विकास गर्ने, अन्तर्रा्ष्ट्रिय भैँसी विज्ञहरुको समगोष्ठी आयोजक राष्ट्रको हैसियतले निकट भविष्यमा एशियन बफेलो कंग्रेस आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने र गुणस्तरीय दूध उत्पादनका लागि एशियन मस्टाइटिस काउन्सिल स्थापना गर्ने निष्कर्ष निकालेको थपलियाले जानकारी दिइन् । पत्रकार सम्मेलनमा समगोष्ठीका सदस्य सचिव भूमिनन्द देवकोटाले सन् २०१८ मा एशियन बफेलो कंग्रेस भारतको हरियाणाको हिसारमा हुने र सन् २०२१ मा हुने सो कंग्रेस नेपालमा गर्न सहज बनेको बताए । समगोष्ठीबाट विश्वमा १५ देखि ४० प्रतिशतसम्म दुहुनु भैँसीमा देखिने गरेको थुनेलो रोग नियन्त्रणका लागि एशियन मस्टाइटिस काउन्सिल स्थापना गर्न सकारात्मक वातावरण बनेको उनले बताए । विश्वविद्यालयका कूलपति प्राडा ईश्वरीप्रसाद ढकाल, रजिष्ट्रार प्राडा मनराज कोलाक्षपति, विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा नवराज देवकोटाले विश्वमा संख्याको हिसाबले पाँचौँं स्थानमा रहेको नेपालमा भएको भैँसी विज्ञहरुको समगोष्ठी आफैमा महत्वपूर्ण रहेको भन्दै यसले विश्वका भैँसीपालन गर्ने देशसँग विश्वविद्यालयको सम्बन्ध सुमधुर बनाउन सहयोग मिलेको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा समगोष्ठी भएको हो । ‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैँसी उत्पादनमा वृद्धि’ नाराका साथ आयोजना गरिएको समगोष्ठीमा नेपालसहित १० देशका वैज्ञानिक सहभागी रहेका थिए । समगोष्ठीमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्सि, इटाली, अमेरिका र क्यानडाका वैज्ञानिक सहभागी भएका थिए । उनीहरुले भैँसीको उत्पादन सम्बन्धी विभिन्न विधामा कार्यपत्र प्रस्तुत गरेका थिए । भैंसीको प्रजनन् प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन प्रविधि, अनुवांशिक प्रविधि, भैँसीजन्य उत्पादनको सामाजिक, आर्थिक पक्ष, एवं पशुजन्य खाद्य पोषणको प्रमुख स्रोतको रुपमा भैंँसी उत्पादन जस्ता ८९ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोष्टर र पाँचवटा विशेष कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालमा कूल दुग्ध उत्पादनको दुई तिहाईभन्दा बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैँसीको उत्पादनले ओगटेको छ । विश्वका ४२ देशमा भैँसीपालन हुँदै आएको छ । विश्वभरमा १८ करोड ५० लाख भैँसी पालिएकोमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैँसीपालन हुँदैआएको बताइएको छ ।

मंसिर ४ ।


नियमित स्वास्थ्य परीक्षण नगर्दा मानव शरीर भित्र दीर्घ रोग भएको थाहा नपाएपछि त्यसको नियन्त्रण हुन नसकेर अचानक मानिसको मृत्यु हुने गरेको छ । अचानक हुने मृत्युलाई हृदयघात भनेर भनिएपनि रगतमा हुने नुन, पोटासियम, क्याल्सियम, म्याग्नेसीयम, जिंकजस्ता तत्वहरुमा खराबी भएर जानकारी नहुँदा त्यसको कारणले मानिसको अचानक मृत्यु हुने गरेको छ । देखिने गरि कुनै पनि कारण नभइ चौबिस घण्टाभित्रै व्यक्तिको मृत्यु हुनुलाई अचानक मृत्यु भनिन्छ । अचानक मृत्युमा ९० प्रतिशत कारक तत्वको रुपमा मुटु रहेको हुनाले जसलाई हृदयघात पनि भनिने गरेको छ । पहिलेदेखि समान्य मानिएको मुटुको रगतको नली अचानक जाम भएर मुटुले शरीरमा रगत पु¥याएपनि मुटुमा रगत ल्याउन नसक्दा हुने मृत्यु अचानक मृत्युको पहिलो कारण भएको डाक्टर भोजराज अधिकारीको भनाइ छ ।
अचानक मृत्युबाट जोगिनको लागि आफ्नो स्वास्थ्य अवस्थाको बारेमा नियमित चेकजाँच गराउँदै सामान्य जानकारी हुन आवश्यक रहेको चिकित्सक बताउँछन् । कुनै परिवारमा मधुमेह, मुटु सम्बन्धी रोग, सुगरजस्ता वंशानुगत रोग छन् भने त्यस्ता परिवारका व्यक्तिले आफ्नो मुटुको परीक्षण गराउन जरुरी रहेको मुटु रोग विशेषज्ञ डाक्टर मणिप्रसाद गौतम बताउँछन् ।
अचानक हुने मृत्युबाट विश्वमा १० लाख जनसंख्या मध्ये एक जना व्यक्ति मर्ने गरेका छन् । जीवनशैलीमा आउने परिवर्तन, स्वास्थ्य भन्दा रमाइलोमा बढी ध्यान दिनु, धुमपान र मध्यपान अत्यधिक सेवन गर्नु, स्वास्थ्य सम्बन्धी सरकारी नीति कमजोर रहनु जस्ता कारणले युवाअवस्थामा अचानक मृत्यु हुने सम्भावना बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

चितवन ३ मंसिर।

चितवनको बिकट क्षेत्र काउले जहाँ अहिले सम्म निर्वाचित संसदको आखाँ पुग्न सकेको छैन । राष्ट्रिय बिकासका कार्यक्रमहरुबाट समेत पछाडी परेको सो क्षेत्रका जनता संबिधान सभाको निर्वाचनमा निर्वाचित जन प्रतिनिधि आउछन् कि भन्ने आसमा अझै छन् । सो क्षेत्रमा अझै सडक संञ्जाल पुुग्न सकेको छैन । चितवनको सदरमुकाम वाट करिव एक दिनको यात्रामा पुगिने सो स्थानका जनताले अझै उच्च स्तरीय स्वास्थ्य सेवा र बिजुलि बत्तिको उपभोग गर्न पाएका छैनन् ।

सडक संञ्जाल बिस्तार हुन नसक्दा उत्पादित हरीयो तरकारीले बजार भाउ पाउन सकेका छैनन् भने कुनै रोगले अकास्मात समात्यो भने ज्यान गुमाउनुको बिकल्प छैन सो क्षेत्रका जनता संग । बिकसित जिल्लाको रुपमा चिनिएको यस जिल्लामा अझै भनौ खाने पानि लिन एक देखि २ किलोमिटर सम्म टाढा जानुपर्ने बाध्यतामा रहेका छन् ति जनता । उनिहरुलाई २०७० सालको संबिधान सभाको निर्वाचनमा उम्मेदवारले आस्वासन दिएको भन्दै अहिले रुष्ट बनेका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर २ काउलेका ५८ वर्षिय मदन भण्डारी अहिले बिकास र निकास दिने उम्मेदवारलाइ मात्र मतदान गर्ने बताउनु हुन्छ ।आश्वासन धेरै पाईयो अब हामि संग सम्झौता गर्नु पर्छ भण्डारीले भन्नु भयो ।

आश्वासन बाँड्ने र काम नगर्ने गरेकाले यस क्षेत्र सधै पछि परेको उहाँले बताउनु भयो । जनताको मतले बिजयी भई सकेपछि गाउँ नफर्कने परिपाटिले हामि रुष्ट छै उहाँले भन्नु भयो । २०७० सालको निर्वाचनमा भोट माग्न आउँदा सडक सञ्जाल बिस्तार गर्ने र बिजुलि बत्ति ल्याईदिने आश्वासन दिएको संम्झना गर्दै भण्डारीले भन्नु भयो हामिले आस्वासन पायौ तर बिकास पाएनै ।
यस्तै सोहि क्षेत्रका अर्का स्थानिय भरत चेपाङ् आश्वासनले मात्रै बिकास नहुने बताउनु हुन्छ । सधै हामिलाई भोट बैंक ठान्ने नेतालाई हामिले कसरी पाठ सिकाउँछै हेर्दै जानुस उहाँले भन्नु भयो । भौगोलिक रुपले टाढा रहेको सो क्षेत्रको बिकासकालागि ईच्छा शक्ति नभएको उहाँले बताउनु भयो ।

बिकास सहरमा मात्रै हो भने सहरमा मात्रै भोट मागुन ५६ बर्षिया महेश्वरी मैनालीको भनाई छ । आफ्नै जिल्लामा जान पनि अर्काको जिल्लाको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको मैनालीलले बताउनु भयो । काउलेकि एक शिक्षिका अब यहाँका जनताले पाटि भन्दा माथि उठेर बिकास प्रेमी नेतालाई भोट हाल्लने बताउनु भयो । सोझा जनतालाई भुक्काएर बिकास नगर्ने र निर्वाचित भई सके पछि अर्को अन्य समयमा नआउने अनि निर्वाचनमा मत माग्न आउनेलाई हामि भोट हाल्लन सक्दैनै उहाँले भन्नु भयो ।
यस्तै अर्का स्थानिय लोक बहादुर बस्नेतले आफ्नो क्षेत्रलाई कसैले पनि मायाँ नमानेको बताउनु भयो । उहाँले भन्नु भयो यो भन्दात बरु पञ्चायतमा बिकास हुने गथ्यो ? बहुदल भन्दा वरु पन्चायत ठिक । दलका उम्मेदवारहरुको पारा देखेर आजित बनेको ईच्छाकामना गाउँ पालिका वडा नम्बर २ र १ का जनताले अहिले बिबेक पुर्याउने बताएका छन् । हात्तिवाङ्का एक किसोर शिब प्रजा पहिले बिजुलि, सडक लगाएतका बिकास निर्माणमा सहयोग गर्ने भने पनि पछि केहि नगरेको बताए। निर्वाचनमा बिजयी भएर गएका सांसद पार्टिको आन्तरीक चुनाबमा आएको भए पनि अन्य कुनै बिकासका काममा नआएको उनले बताए ।

मंसिर ०४ ।


चितवनको भरतपुरबाट विस्फोटक पदार्थ जिलेटिन सहित नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ को पिपलचोकबाट आइतबार बिहान २२ थान जिलेटिन सहित नेकपा विप्लब समूहका दुई जना कार्यकर्ता पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ३ घर भएका १८ वर्षीय दिवस भुषाल र तनहूँको रिसिङ गाउँपालिका वडा नम्बर ३ घर भएका १८ वर्षीय अरुण गिरी पक्राउ परेका हुन् ।
पक्राउ परेका विप्लबका कार्यकर्ताको साथबाट विस्फोटक पदार्थ जिलेटिन पड्काउन प्रयोग हुने बिजुलीको तार र विप्लबका अन्य महत्वपूर्ण दस्तावेजहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले यस अगाडि चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसी सहित तीन जना कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

मंसिर ०४ ।


हिन्दु राष्ट्रको पहिचान रक्षार्थ चितवन प्रदेश सभा क्षेत्र नं. २ ख का स्वतन्त्र उम्मेदवार निरज शर्मा काफ्लेले चुनाव प्रचारलाइ तिव्र बनाएका छन् । नेपाललाइ हिन्दु राष्ट्र बनाउने एजेण्डा बनाएका अन्य राजनितिक दलहरुले सत्ता पाउंदा सबै एजेण्डालाइ विर्सने गरेकाले आफुले स्वतन्त्र उम्मेदवारी दिएको निरज शर्मा काफ्लेले वताएका छन् । हिन्दु राष्ट्र निर्माण एवं सामाजिक सद्भाव र भाइचाराको लागि क्षेत्र नं २ ख का जनताले आफुलाइ विजयी गराउने उनको दावि छ । चितवननमा ३ ओटा प्रतिनिधि सभा क्षेत्र र ६ ओटा प्रदेश सभा क्षेत्र रहेका छन् । प्रदेश सभा क्षेत्र नं. २ ख मा भरतपुर महानगरपालिकाको वडा नं. २,४,५,७,१०,११ र १२ समावेश छ । स्वतन्त्र उम्मेदवार काफ्लेले बालक चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन् । उनले क्षेत्र नं. २ ख अन्तर्गत भरतपुरका विभिन्न वडा एवं टोलहरुमा घरदैलो एवं आमसभा गरि आफ्ना धार्मिक एवं सामाजिक प्रतिवद्धताहरु जनाउंदै आएका छन् । काफ्लेले असहाय गौ संरक्षण, जिर्ण एवं ओझेलमा परेका मठमन्दिरहरु, गुम्बा लगायत सार्वजनिक स्थलको संरक्षण एवं पुर्नस्थापना गर्ने वताएका छन् । सोमबार धर्मचोक लंकुमा आयोजित चुनाव प्रचारको कार्यक्रममा बोल्दै स्वतन्त्र उम्मेदवार काफ्लेले सबै क्षेत्रवासिलाइ समान अवसर र न्यायको प्रत्याभुति दिलाउने प्रतिवद्धता व्यक्त गरे । युवाहरुलँइ योग, सरसफाइमा प्रेरित लगायत ज्येष्ठ नागरिकहरुलाइ सामाजिक सुखी जीवनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

चितवन , मंसिर ३


चितवनको रत्ननगरमा संचालन भएको पूर्वीचितवन महोत्सव समापन गरिएको छ । रत्ननगर जेसिजले कार्तिक २४ गतेदेखी सूरु गरेको महोत्सव आइतबार सकिएको हो । पूर्वीचितवन महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार पूर्वीचितवनका २० दम्पतीलाई सम्मान समेत गरेको छ । वैवाहिक जिवनमा बादिएर ५० बर्ष पूरा गरेका दम्पत्तीहरुलाई सम्मान गरिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले दम्पत्तीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा दम्पत्तीहरुलाई सम्मानसँगै महोत्सव अवधिभर महोत्सव परिसर भित्र आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । महोत्सवमा रत्यौली प्रतियोगिता , मेहेन्दी प्रतियोगिता , दुलही श्रंङगार प्रतियोगिता ,विद्यालय स्तारिय नृत्य प्रतियोगिता , बालविवाह सम्बन्धि वक्तीत्वकला प्रतियोगिता भएका थिए । १० दिनसम्म चलेको महोत्सवमा करिव १ करोड बराबरको कारोबार भएको आयोजकले अनुमान गरेको छ । महोत्सवमा २३५ वटा स्टल सहित बालउद्यान रहेको थियो । महोत्सवमा प्रत्येक दिन स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

More Articles ...