समयको माग अनुसार प्राविधिक शिक्षाको आवश्यकता

प्रमुख समाचार
Typography

कात्तिक २८ ।


चितवनका सरोकारवालाहरुले समयको माग अनुसारको प्राविधिक शिक्षाको आवश्यकता रहेको औँल्याएका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नीति २०६९ परिसंवादबाट प्राप्त भएका सुझावहरु सम्बन्धी भरतपुरमा छलफल गर्दै यहाँका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका व्यक्तिहरुले बजारको माग अनुसारको सीप प्रदान गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले नेपालको अर्थतन्त्रमा उत्पादनको क्षेत्र बढ्ने गरि प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताए । अहिलको माग अनुसारको गुणस्तरीय व्यावसायिक शिक्षामा जोड दिँदै डल्लाकोटीले अझैपनि यहाँका होटलहरुमा आवश्यक तालिम प्राप्त दक्ष जनशक्ति नभएकाले तत्काल श्रम बजारमा बिक्री हुने खालका सीपहरु दिनुपर्ने बताए । कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारीले सिटीईभीटीबाट प्रदान गरिने तालिम सहज र सरल हुनुपर्ने बताए । विद्यालय तहबाट नै प्राविधिक शिक्षालाई जोड दिँदै विद्यालयलाई सिटीइभीटीबाट सहज रुपमा सम्बन्धन दिनुपर्ने बताए । भरतपुर महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेलले विद्यालयले सिटिइभिटीबाट प्राविधिक शिक्षा प्राप्त गर्नको लागि सम्बन्धन पाउनै गाह्रो भएको बताए । विद्यालयले प्राविधिक शिक्षा पढाउने भनेर अनुमति माग्दा समेत नपाउने गरेको पौडेलले बताए । नेपालमा वर्षेनि चार लाख भन्दा बढी विद्यार्थीहरुले विद्यालय शिक्षा प्राप्त गर्ने तर त्यसको आधा मात्रै विद्यार्थीहरुले आफ्नो शिक्षालाई अगाडि बढाउने भएकाले ती विद्यार्थीहरुलाई लक्षित गरि प्राविधिक शिक्षा दिनुपर्ने निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायण सिंह कुँवरले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट श्रम तथा रोजगार मन्त्रालयका उप सचिव जीवन कुमार राई, राष्ट्रिय योजना आयोगका शाखा अधिकृत फणिन्द्र पौडेल, नेपाल सरकारका पूर्व सचिव महाप्रसाद शर्मा, शिक्षा मन्त्रालयका मुकुन्दमणि खनाल, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्का निर्देशक दिपक पौडेल लगायतले मन्तव्य राखेका थिए । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।