‘र’को मान्छे भनेर धम्काउने चार जना पक्राउ

प्रमुख समाचार
Typography


आनन्द पोखरेल
चितवन, ११ साउन


उद्योगपति तथा व्यवसायीलाई आफू ‘र’को मान्छे हुँ भनि धम्की दिइ रकम माग गर्ने मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरि चितवन प्रहरीले सार्वजनिक गरेको छ । मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले अपहरण र ज्यान मार्ने धम्की दिँने व्यक्तिहरुलाई काठमाडौँको नयाँ बसपार्कको सिस्नेरी गेष्ट हाउसबाट पक्राउ गरि बुधबार चितवनमा सार्वजनिक गरेको हो । मुख्य योजनाकार भनिएका धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ घर भएका ३० वर्षीय ईश्वर बस्नेत र उनका तीन जना सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेत सशस्त्र प्रहरी बलको भगौडा जवान भएको समेत अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । बस्नेत सहित धादिङकै ज्वालामुखी गाउँपालिका वडा नम्बर १ घर भएका २२ वर्षीय रामकृष्ण श्रेष्ठ, धादिङकै ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय रोशन बस्नेत र धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का २० वर्षीय मनोज श्रेष्ठ पक्राउ परेका हुन् । घटना अनुसन्धानका लागि चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले पीडितको गोपनियतालाई ख्याल राख्दै सिमित जनशक्ति र प्रविधिको परिचालन गरि गोप्य रुपमा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको बताउनुभयो ।