दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार

प्रमुख समाचार
Typography

साउन ८ ।
बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको तारमा समस्या हुँदा साउन ३ गतेबाट यहाँ विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । आइतबारसम्म पनि निर्माण कम्पनीले सो समस्याको विषयमा कुनै चासो नदिएको स्थानीयवासीले बताएका छन् । जमिनमुनि गाडिएको तार सात स्थानमा गाँसिएको छ । सोमध्ये दुई स्थानमा डढेको जस्तो कालो लागेको पाइएको भए पनि परियोजना हस्तान्तरण नहुँदा आफूहरुले हेर्न नपाएको नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । स्थानीय उपभोक्ताहरु प्राधिकरणलाई गाली गरिरहेका उल्लेख गर्दै पौडेलले समस्याबारे कुरा गर्दा निर्माण कम्पनीले हामी आफैँ आएर हेर्छौं भनेका बताए । हस्तान्तरण नभएको परियोजना विद्युत प्राधिकरणले सिधै गएर हेर्न नमिल्ने पौडेलको भनाइ छ । परियोजनाले समस्या हेर्ने जिम्मा ठेकेदारलाई दिएकाले ठेकेदारको लापरबाहीका कारण समस्या बेलैमा पहिचान हुन नसकेको आरोप स्थानीयवासीले लगाएका छन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनि गाडिएको विद्युतको तारमा देखिएको खराबीका कारण असार ५ गतेदेखि अवरुद्ध भएको विद्युत् सेवा २ सातापछि शुरु भएको थियो । त्यसको महिनादिन नपुग्दै फेरि समस्या देखिएको हो । जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याई सेवा शुरु गरिएको थियो । भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित २०६७ सालबाट भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा माडीमा विद्युत् पु¥याइएको थियो । मंसिरबाट विद्युत् सेवा शुरु भएको माडीमा अहिले करिब चार हजार ग्राहक छन् । पटक–पटक जमिनमुनिको खराबीले यहाँका उपभोक्ता मारमा पर्दै आएका छन् ।