तेस्रो ईन्डोनेपाल मुवाँथाई प्रतियोगितामा चार स्वर्ण पदक सहित नेपाल पहिलो

प्रमुख समाचार
Typography

माघ २९ ।


भरतपुरमा सम्पन्न भएको तेस्रो ईन्डोनेपाल मुवाँथाई प्रतियोगितामा चार स्वर्ण पदक सहित नेपाल पहिलो भएको छ । सोमबार भएको फाइलन खेलमा ईन्डोनेपाल मुवाँथाइ अन्तर्गत पाँच वटा प्रतिस्पर्धा भएकोमा भारतले एउटा स्वर्ण पदकमा चित्त बुझाएको छ । नेपालको तर्फबाट ८१ किलो तौल समूहमा सन्देश मानन्धर, ७० किलो तौल समूहमा सचिन्द्र मानन्धर ५६ किलो तौलमा राहुल ठकर लामा र ६० किलो तौलमा गुणराज रुचालले स्वर्ण पदक जितेका छन् । ५० किलो तौल समूहमा भएको खेलमा भने भारतका एस आर भसान्तले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपाल र भारतका १० जना खेलाडीहरु सहभागी भएका थिए । नेपालका तर्फबाट स्वर्ण पदक जित्ने चार जनै खेलाडी नेपाल आर्मीका भएका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कोलाक्षपतीले जानकारी दिए । ५६ किलो तौल समूहमा स्वर्ण पदक जितेका राहुल ठकर लामा यस अगाडि कम्बोडियामा सम्पन्न अन्तर्राष्ट्रिय मुवाँथाई प्रतियोगिताको समेत स्वर्णपदक विजेता खेलाडी भएको कोलाक्षपतीले जानकारी दिए । त्यस्तै, चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा चार वटा स्वर्ण पदक जित्दै काठमाडौँ पहिलो भएको छ । सोमबार भएको फाइनल खेलमा चितवनले एउटा मात्रै स्वर्ण पदक प्राप्त गरेको छ भने अन्य जिल्लाहरु पदक विहिन बनेका छन् । काठमाडौँले पुरुषतर्फ तीन वटा स्वर्ण र महिला तर्फ एउटा स्वर्ण पदक हात पारेको हो । ५५ किलो तौल समूहमा काठमाडौँका सत्यसिंह सुनार, ६० किलो तर्फ काठमाडौँका सन्तोष मगर र ६५ किलो तौलमा काठमाडौँकै सलाम लोप्चाले स्वर्णपदक प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा ७५ किलो तौल समूहमा भने चितवनका दिवसलाल भूमीले स्वर्ण पदक जितेका हुन् । त्यस्तै, महिला तर्फ काठमाडौँकी दिव्या गुरुङले स्वर्ण पदक जितेकी थिइन् । चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा ३६ जना खेलाडी सहभागी भएकामा चार जना महिला खेलाडीले समेत प्रतिस्पर्धा गरेका थिए ।