पाँचौ खिचरा महोत्सव दोस्रो दिनः कमल र सिम्पलको जोडीले झुमायो दर्शक

प्रमुख समाचार
Typography

चितवन, पुस २९–

थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा चितवनमा हिजोदेखि सुरु भएको ‘पाँचौं खिचरा महोत्सव २०७४’ मा आज दर्शकहरु सांगीतिक माहोलमा झुमेका छन् ।

युवा पुस्ताका चर्चित गायक कमल खत्री र गायिका तथा मोडेल सिम्पल खरेलले महोत्सवमा उपस्थित दर्शकहरुलाई झुमाएका थिए । कमललाई सिम्पलले ‘कसम...’लगायतका बोलको गीतमा साथ दिए । यस्तै गायक कमलले जाउँला रेलमै..., आत्मा..., सुस्तरीलगायत बोलका झण्डै एक दर्जन गीत गाएका थिए । उनको गीतमा दर्शकहरुले उफ्रिदै वान्समोर भनेपछि गायक कमलले लगातार गीत प्रस्तुत गर्दै दर्शकको प्यास मेटेका थिए ।

गायिका सिम्पल खरेलले रिमिक्स गीतमा आकर्षक नृत्य समेत देखाईन् । यसअघि महोत्सवमा लोक गायक मिलन लामाले हङकङ आईडीले...थारु गीत छनियामा लौका..लगायत बोलका गीत प्रस्तुत गरे । आज साँस्कृतिक कार्यक्रम अन्तरगत रत्ननगर कलामन्दिरलगायत कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।

आज शनिबार भएकाले पनि महोत्सवमा दर्शकको भीड लागेको थियो । महोत्सवको तेस्रो दिन भोली (आईतबार) थारु गयक अमितसिंह चौधरी, नेपाल आईडलकी एलिना सापकोटा, बलराम जादुगर, हास्यकलाकार भविष्य तिवारी, गायक विज्ञान न्यौपाने, मोटो पत्लु कमिडीलगायत स्थानीय कलाकाहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित सुरु भएको खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सवको हिजो भुमी सुधार तथा व्यववस्था मन्त्री गोपाल दहितले समुद्घाटन गर्नुभएको थियो । उद्घाटन अघि झाकीसहितको ¥याली निकालिएको थियो ।

थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको छ । महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ भने करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।