एक सय वर्ष नाघेका दुई जना ज्येष्ठ नागरिकले चितवनमा मतदान गरे

प्रमुख समाचार
Typography

मंसिर २१ ।


दोस्रो चरण अन्तरगत बिहीबार चितवनमा भएको मतदानमा एक सय वर्ष नाघेका दुई जना ज्येष्ठ नागरिकले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने भरतपुर २ मा रहेको बालकुमारी माध्यमिक विद्यालयबाट दुई जना ज्येष्ठ नागरिकले मतदान गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर घर भएकी एक सय १५ वर्षे डल्लीमाया बसेल र एक सय वर्षे लिलाहरि पोखरेलले नारायणगढबाट मतदान गर्नुभएको हो । एक सय १५ वर्षे बसेलले मतदाता परिचय पत्र नम्बर १६७००८५४ बाट बालकुमारी माविको मतदान स्थलको ख केन्द्रबाट मतदान गर्नुभयो । त्यस्तै एक सय वर्षे लिलाहरि पोखरेलले बालकुमारी माविको मतदान स्थलको च केन्द्रबाट मतदान गर्नुभएको हो । बसेललाई मतदान गराउनको लागि उहाँका कान्छा छोरा मानबहादुर बसेल र कान्छी बुहारी अनिता बसेलले मतदान केन्द्रसम्म ल्याउनुभएको थियो । पोखरेललाई मतदानको लागि उहाँका छोराहरु अशोक पोखरेल र शान्ताप्रसाद पोखरेलले मतदान स्थलसम्म ल्याउनुभएको थियो । आफू जिवित छदाको अवस्थामा नै समृद्ध नेपाल देख्न पाए आत्माले शान्ति पाउने दुवै ज्येष्ठ मतदाताले प्रतिकृया दिएका थिए । बालकुमारी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सात हजार ७२ मतदाता रहेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ मा बालकुमारी मावि मात्रै मतदान स्थल रहेको छ भने उक्त स्थलमा सात वटा केन्द्र रहेका छन् ।