चितवनमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

प्रमुख समाचार
Typography

मंसिर २१ ।


चितवनमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत बिहीबार सम्पन्न भएको मतदानमा जिल्लाका करिब ७० प्रतिशत मतदाताले भाग लिएका जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । चितवनबाट विभिन्न हेभीवेटका उम्मेदवारहरु निर्वाचनमा मतदाता र उम्मेदवार भएकाले समेत राष्ट्रिय रुपमा चितवनले ध्यान खिचेको छ । साँझ पाँच बजे मतदान सकिएपछि मतगणना स्थल भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालयमा मतपेटिका लैजाने काम भइरहेको छ । चितवनको सुगम ठाउँका मतपेटिकाहरु चाँडै नै मतगणनास्थल आइपुग्ने भएपनि बाँदरझुला, इच्छाकामनाका मतपेटिका आउन ढिला हुने भएकाले शुक्रबार बिहान मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले बताउनुभयो ।

चितवनमा तीन वटै प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको मतगणना एकै पटक सुरु गरिने भएको छ । शुक्रबार बिहानबाट मतगणना सुरु भएर चार दिनमा प्रत्यक्ष तर्फको र २८ गतेसम्म समानुपातिक तर्फको पनि मतगणना सक्ने मुख्य निर्वाचन अधिकृतको भनाइ छ ।

चितवनको तीन वटा निर्वाचन क्षेत्रमा जम्मा तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । बिहीबार साँझ सर्वदलीय छलफल पछाडि मतगणना आचारसंहिता निर्माण गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।