बालगोपाल चुके र उनकी पत्नीले चितवन मानव सेवा आश्रममा खाना खुवाए

स्थानिय
Typography

मंसिर ०४ ।


लायन्स क्लब अफ नारायणगढ बालकुमारीको स्थापना दिवसको अवसर पारेर क्लबका अध्यक्ष बालगोपाल चुके र उनकी पत्नीले चितवन मानव सेवा आश्रममा खाना खुवाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रय लिइरहेका अनाथ व्यक्तिलाई सोमबार खाना खुवाइएको हो । मानवीय काम गर्नको लागि स्थापना गरिएको संस्थाको हरेक वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिलाई खाना खुवाइएको क्लबका अध्यक्ष बालगोपाल चुकेले बताए । क्लबको स्थापना दिवसको अवसर पारेर चुके दम्पतीले चितवन मानव सेवा आश्रमको अक्षय कोषमा रहने गरि १५ हजार रुपैयाँ समेत प्रदान गरेका छन् । सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई अक्षयकोषबाट आउने व्याजले खान खुवाउन पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएको चितवन मानव सेवा आश्रम अक्षयकोषका लागि चुके दम्पतीले उक्त रकम प्रदान गरेका हुन् । कार्यक्रम मार्फत नै क्लबका सदस्य धु्रव प्रसाद पौडेलले मंसिर २० गते पर्न गएको आफ्नी छोरीको जन्म दिनको अवसरमा आश्रमको अक्षयकोषमा ११ हजार रुपैयाँ प्रदान गरेका छन् । यसैबीच, क्लबका पूर्व अध्यक्ष सरोज मास्केले समेत आफ्नो जन्म दिनको अवसर पारेर उक्त कार्यक्रम मार्फत एक दिनको खाना खुवाउने रकम आश्रमलाई प्रदान गरेका छन् । नारायणगढका व्यवसायी समेत रहेका मास्केले बिहानको खाना, दिउँसोको खाजा र बेलुकीको खाना वापतको रकम संस्थाका अध्यक्ष ममता शर्मा न्यौपानेलाई प्रदान गरेका हुन् । चितवन मानव सेवा आश्रममा हाल ३१ जना महिला र एक जना बालक सहित ४६ जना असहाय व्यक्तिहरुले आश्रय लिइरहेका छन् । मानसिक सन्तुलन गुमाएका, बिरामी, असहाय व्यक्तिहरुलाई चितवन सहिसत काठमाडौँ, नुवाकोट, गोरखा, नवलपरासीको सडकबाट उद्धार गरेर चितवन मानव सेवा आश्रममा राखिएको आश्रमका उपाध्यक्ष विनोद ढकालले जानकारी दिए ।