वाम गठबन्धनद्वारा घरदैलो

स्थानिय
Typography


आनन्द पोखरेल
चितवन, १३ मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै चितवनमा उम्मेदवारहरुले घरदैलोलाई तीव्रता दिएका छन् । चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले नियमित रुपमा घरदैलो गर्दै आफ्ना उम्मेदवारका चुनावी एजेण्डाहरु स्थानीय जनता समक्ष लगेका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ मा वाम गठबन्धनले घरदैलो गरेको छ । प्रतिनिधिसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रदेशसभामा एमालेका कृष्ण भुर्तेल तथा समानुपातिकको प्रदेश र प्रतिनिधिसभाका लागि आफूलाई मन पर्ने दलमा मतदान गर्न सिकाउँदै वाम गठबन्धनका कार्यकर्ताहरुले घरदैलो गरेका छन् । समूहमा हिँडेका वाम गठबन्धनका कार्यकर्ताहरुले शिवघाट, फुर्तीचोक लगायतका ठाउँका स्थानीय जनतालाई निर्वाचनका दिनमा भोट हाल्ने सहि तरिका सिकाउँदै घरदैलो गरेका हुन् ।
जनताको मत अमूल्य हुने भएकाले मत खेर नजाओस् भनेर उनीहरुलाई मतदान गर्ने सहि तरिका सिकाउँदै घरदैलो गरेको कार्यकर्ताहरु बताउँछन् । वामपन्थी सरकारले विकास गर्ने योजना ल्याएर काम गर्न नपाउँदै सरकार ढालिएको उदाहरणहरु प्रस्तुत गर्दै एक पटक वामपन्थीको बहुमतको सरकार निर्माण गरेर जनताको विकास निर्माणको चाहना पुरा गर्नुपर्ने पुष्प केसीले बताए । लामो समयदेखि देशमा राजनीतिक अस्थिरता आएकोले अबको निर्वाचनबाट वाम सरकार निर्माण गर्दै समृद्ध नेपालको परिकल्पना साकार गर्नुपर्ने केसीको भनाइ थियो ।
उक्त घरदैलोमा प्रदेशसभा उम्मेदवार कृष्ण भुर्तेल समेत सहभागी भएका थिए । भुर्तेलले जनताको हरेक सुखदुखमा साथ दिँदै आएको र आगामी दिनमा समेत उनीहरुको दुखसुखमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।